रामेछाप । रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक बुधवार साँझसम्म खुल्ने भएको छ । गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्ड अन्तरगत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्ण रूपमा कटान गरेको छ । जसका कारण यो सडक पूर्ण रूपमा बन्द भएको छ ।
मङ्गलवार ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको उपस्थितिमा बसेको रामेछाप र दोलखा जिल्लाका सरोकारवालाबिचको बैठकमा हाइड्रोपावर क्षेत्रबाट वैकल्पिक रूपमा बाइपास सडक खुलाउने सहमति बनेको थियो ।
Advertisement
सोही सहमति अनुसार अहिले बाइपास सडक खुलाउने काम भइरहेको रामेछापका विद्यार्थी नेता पुष्कर भट्राईले बताउनुभयो । उहाँले भन्नुभयो “बिहान सर्वपक्षीय सहमति भन्दा विपरीत रुट परिवर्तन गर्ने प्रस्ताव आयो । जसका कारण बिहानैदेखि बाइपास सडक खुलाउने काम हुन सकेन । सबै पक्षबिच छलफल पश्चात् बुधवार बिहान १० बजेबाट मात्रै बाइपास सडक खुलाउने काम सुरु भएको छ । आज साँझ सम्म मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक सञ्चालन हुन्छ ।”
अहिले दुई तर्फबाटै दुई वटा जेसिवी र एउटा स्काभेटरले बाइपास सडक खुलाउन काम गरिरहेको उहाँले बताउनुभयो ।
गत बिहीबार, शुक्रवार र शनिवार परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सबै क्षेत्रका सडक क्षति भएपछि रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौँबाट रामेछाप आवत जावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ ।
प्रतिक्रिया