रामेछाप । असोज १२ गते दिउँसो सुनकोशीमा आएको अत्यधिक बाढीले रामेछाप सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्ग बिपी राजमार्गसँग जोड्ने खुर्कोट पुल बगायो । एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा यो पुल निर्माण भएको थियो । पुल बाढीले बगाएसँगै रामेछाप बासीलाई मन्थलीबाट राजधानी काठमाडौँ जान ७५ किलोमिटर दूरी लम्बिएको छ भने तराई क्षेत्रसँगको दुरी पनि लामो भएको छ ।
बिहीबारबाट मन्थली–चरिकोट–सिन्धुपाल्चोक पुष्पलाल मार्ग मार्फत रामेछापवासी काठमाडौँ आवत जावत गरिरहेका छन् । अहिले रामेछापलाई तराइ क्षेत्रसँग जोड्न मन्थली–सित्खा–खुर्काेट–बर्दिबास सडक सञ्चालन भइरहेको छ ।
यो सडक मार्फत रामेछाप र दोलखा जिल्लाका लागि खाद्यान्न, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक सामाग्री बोकेका ढुवानीका साधनहरू आवत जावत गरिरहेका छन् ।
Advertisement
तर यस्ता सामाग्री बोकेर आएका ढुवानीका साधनहरूलाई सिन्धुली प्रशासनले विभिन्न बहानामा दुःख दिने गरेको चालकहरूको गुनासो छ । सामान लिएर आउँदै गरेका ढुवानीका साधनहरूलाई सिन्धुलीका विभिन्न स्थानमा प्रहरीले थुनछेक गर्ने गरेको चालक सानुकुमार बोहराले बताउनुभयो । उहाँले भन्नुभयो “सिन्धुलीका विभिन्न स्थानमा प्रहरीले तराइबाट सामान बोकेर आएका साधनलाई रोक्ने गरेका छन् । प्रहरीले मनलाग्दी घण्टौँ रोक्ने र छोड्न गर्छन् । यस्तो बेलामा खाद्यान्नको अभाव भइसक्यो, सबै कुराहरू छैन जस्ता कुराहरू भनेपछि छाड्ने गरेका छन् ।”
दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक सामान बोकेका मालवाहक सवारी साधनलाई नरोक्न रामेछाप उद्योग वाणिज्य सङ्घले पनि सार्वजनिक रूपमै आग्रह गरेको छ । सङ्घले केही दिनअघि सार्वजनिक सूचना जारी गरी दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक ढुवानीका मालवाहक गाडीहरूलाई छेक थुन नगरी आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको थियो । सामान बोकेर रामेछाप आउँदै गरेका ढुवानीका साधनहरूलाई सडकको अवस्था जस्ता कारण देखाउँदै विगतमा पनि यस्तो हुँदै आएको रामेछापवासीको गुनासो छ । विपत्ति परेको समयमा एक जिल्लाले अर्को जिल्लालाई सहयोग गर्नुपर्नेमा दैनिक उपभोग्य खाद्यान्न र अति आवश्यक सामान बोकेका मालवाहक सवारी साधनलाई छेक थुन गर्नु दुःखद भएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो “विगत देखिनै रामेछाप जिल्ला छिमेकी जिल्लाहरूबाट पीडित हुँदै आएको छ । विपत्ति परेको समयमा एक जिल्लाले अर्को जिल्लालाई सहयोग गर्नुपर्नेमा झन् पीडा दिने मनसायले छेक थुन गर्नु दुःखद कुरा हो । यो विषयमा प्रदेश र सङ्घीय सरकार गम्भीर बन्नुपर्ने अवस्था आयो ।”विपद्को समयमा अत्यावश्यक सामान बोकेर आएका ढुवानीका साधनलाई छिमेकी जिल्लाका प्रशासनले विभिन्न बहाना बनाएर थुनछेक गर्न नपाइने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
Advertisement
प्रतिक्रिया