रामेछाप । रामेछाप सदरमुकाम स्थित मन्थली विमान स्थलबाट तत्कालका लागि हप्ताको ६ दिन काठमाडौँ उडान हुने भएको छ । बाढी पहिरोपछिको विपत्तिको समय र दसैँलाई ख्यालमा राखेर तत्कालका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबारदेखि शुक्रवारसम्म हप्ताको ६ दिन एउटा उडान हुने गरी आइतबार उडान सेडुल स्वीकृत गरेको रामेछाप नागरिक उड्डयन कार्यालयका उप–प्रबन्धक हिरण्य साहले बताउनुभयो ।
अहिले सगरमाथा क्षेत्र भ्रमणका लागि आएका विदेशी पर्यटकहरूलाई मन्थली विमान स्थलबाट सोलुखुम्बुको लुक्ला उडान भइरहेको छ । हाल तारा एयर, समिट एयर र सिता एयरले मन्थली–लुक्ला उडान गरिरहेका छन् । अब यी नै तीन वटा एयरले स्थानीय नागरिकलाई लक्षित गरी हप्तामा दुई÷दुई वटा उडान गर्ने गरी साप्ताहिक रूपमा काठमाडौँ–मन्थली ६ वटा उडानको सेडुल स्वीकृत भएको रामेछाप नागरिक उड्डयन कार्यालयका उप–प्रबन्धक साहले बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरणले सेडुल स्वीकृत गरी उडानको अनुमति समेत दिइसकेकाले अब सोही अनुसार तीन वटै एयरले अहिलेका लागि नियमित उडान गर्नुपर्ने उहाँको भनाइ छ ।
असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि केही दिन यो विमान स्थलबाट उडान रोकिए पनि अहिले नियमित लुक्ला उडान भइरहेको छ । बाढी पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट मन्थली पनि पर्यटकका लागि उडान भइरहेको छ ।
तर यसरी भइरहेको उडान मार्फत विपत्तिका समयमा पनि रामेछाप वासीले प्रयोग गर्न नपाएको गुनासो छ । मन्थली विमान स्थल २०३२ सालमा निर्माण भएकोमा २०३४ सालमा रामेछापका नागरिकले रगत पसिना बगाएर श्रमदान गरी निर्माण गरेको थियो । तर अहिले विपत्तिका समय, दुर्घटनामा परेका घाइते तथा जटिल बिरामीले समेत मन्थली विमान स्थल मार्फत काठमाडौँ जान आउन नपाएको रामेछापवासीको गुनासो छ ।
सगरमाथा क्षेत्र घुम्न आएका विदेशी पर्यटकलाई मात्रै काठमाडौँबाट मन्थली र मन्थलीबाट लुक्ला बोक्न पल्केका विमान सञ्चालक कम्पनीहरू सर्वसाधारणलाई सामाजिक उत्तरदायित्व बिर्सिरहेका रामेछापवासीको गुनासो छ ।
Advertisement
नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने गर्ने गरेको छ । यो दुई वटा सिजनमा मन्थली विमानस्थलबाट दैनिक ६० वटासम्म लुक्ला उडान हुने गरेको छ ।
प्रतिक्रिया