रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको सीमान्तकृत थामी बस्तीमा बन्द भएको ५१ दिनपछि बस पुगेको छ । गत भदौ ८ गते तथा असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले अवरुद्ध भएको सीमान्तकृत थामी बस्ती पुग्ने सडक ५१ दिनपछि मंगलबारबाट सञ्चालनमा आएको हो ।
अहिले काठमाडौँबाट मुढे, दोरम्बा हुँदै आएका बसहरू डडुवाको सल्लेटार मझुवासम्म आइपुगेका वडा सदस्य मङ्गले थामीले बताउनुभयो । सडक बनेसँगै हिमाल तराई यातायात र अरनिको यातायातका बसहरू मझुवा, सल्लेटार, खोलाखर्क, ढुङ्गे, मुढे हुँदै काठमाडौँसम्म नियमित सञ्चालन हुन लागेका उहाँले बताउनुभयो ।
गाउँमा बाटो पुगेपछि स्थानीयलाई काठमाडौँ तथा सदरमुकाम मन्थली आउजाउ गर्न सजिलो भएको छ । सडक नहुँदा बिरामीलाई उपचार गर्न लैजान समेत समस्या भएको थियो । गत भदौ ८ गतेको भीषण वर्षाले सो बस्तीका ४७ घर परिवार पहिरोको चपेटामा परेका थिए । पहिरोको कारण विस्थापित २७ घर परिवार अहिले पनि घर फर्कन सकेका छैनन् ।
Advertisement
पहिरोले घर बस्ने नहुने भएपछि उनीहरू अहिले पनि सामूहिक रूपमा टेन्ट र त्रिपालमुनि बसिरहेका छन् । प्रभावितलाई अस्थायी आवास निर्माण लागि नेकपा एमाले रामेछापबाट ८० बन्डल र गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापबाट ५४ बन्डल जस्तापाता सहयोग प्राप्त भएको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका वडा अध्यक्ष प्रेमकुमार लामाले बताउनुभयो ।
प्रतिक्रिया