रापेछाप । बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने सुनकोशी स्थित खुर्काेट पुल नेपाली सेनाले पुननिर्माण गरेको छ । गएको असोज १२ गतेको बाढीले पुल बगाएपछि रामेछाप सदरमुकाम मन्थलीलाई छोटो दुरीमा राजधानी काठमाडौँ जोड्ने बिपी राजमार्गसँगको सम्बन्ध टुटेको थियो ।
सो पुलमा बेलिब्रिजको काम सकेको र अब भारवहन क्षमता जाँच पश्चात सवारी साधन चल्न सक्ने नेपाली सेनाले जनाएको छ । खुर्काेट पुलबाट मंगलबार बिहान ११ बजेबाट औपचारिक रुपमा सवारी साधन चल्ने बताइएको छ ।
पैदल यात्रुहरु भने आइतबारबाटै पुलबाट वारपार गर्न थालिसकेका छन् । रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी र सिन्धुलीको खुर्कोट जोड्ने सुनकोशी नदीको एक सय मिटर लामो पुलको रामेछापतर्फको ५१ मिटर असोज १२ गते बाढीले बगाएको थियो । पुल बगाएपछि रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्लासम्मको छोटो दूरीको सडक मार्गको सञ्जाल पनि टुटेको थियो ।
Advertisement
खुर्कोट पुल बगाएपछि बिपी राजमार्ग मार्फत ४ घण्टमा काठमाडौँ पुगिरहेका रामेछापवासी पुष्पलाल लोक मार्ग मन्थली– चरिकोट–सिन्धुपाल्चोक सडकबाट काठमाडौँ पुग्न ६ घण्टा भन्दा बढी समयको सडक यात्रा गर्न बाध्य छन् । खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ ७५ किलोमिटर दूरी कम भएको थियो ।
मन्थली नगरपालिकाले धन्यवाद दिने
रामेछापको मन्थली नगरपालिकाकाले बाढीले बगाएको खुर्काेट पुल पुननिर्माणमा खटिएका नेपाली सेना, नेपाल सरकार लगायतलाई मंगलबार धन्यवाद कार्यक्रम राखेको छ । रामेछाप जिल्लाको प्रमुख प्रवेशद्धार खुर्काेट स्थित सुनकोशीको पक्की पुल यही असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको र पुलको पुननिर्माणमा खटिएर समयमै निर्माण सम्पन्न गर्ने नेपाल सरकार, अन्तरगतका सबै निकायहरु तथा नेपाली एवं निर्माण कार्यमा सम्वद्ध सबैलाई नगरपालिकाको तर्फबाट धन्यवाद कार्यक्रम राखिएको मन्थली नगरपालिकाले जनाएको छ । धन्यवाद कार्यक्रम मंगलबार बिहान ११ बजे मन्थली नगरपालिका–६ सुनकोशी पुलमा राखिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सोपकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया