रामेछाप । सुनकोशी नदीको रामेछाप र सिन्धुली जिल्ला जोड्ने पुलमा जडान गरिएको बेलिब्रिजमा मङ्गलवारबाट यातायातका साधन सञ्चालन भएको छ । असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको सो पुलमा नेपाली सेनाले १८ दिनमै बेलिब्रिज हालेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बेलिब्रिजको उद्घाटन गरे पश्चात् मङ्गलवार दिउँसोबाट खुर्काेट पुलबाट सार्वजनिक सवारी साधन चलेका हुन् । पुलको उद्घाटनपछि रामेछापको मन्थली नगरपालिकाले आयोजना गरेको धन्यवाद कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले खुर्काेट पुलमा अस्थायी रूपमा बेलिब्रिज हालिएको बताउनुभयो ।
Advertisement
अब यो ठाउँमा छिटो भन्दा छिटो स्थायी पुल निर्माणका लागि पनि नेपाल सरकारले आवश्यक छलफल अगाडी बढाउने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले यहाँ अस्थायी रूपमा बेलिब्रिज बनेको छ । तर यहाँ स्थायी पुल निर्माण गर्न अत्यावश्यक छ । यो बेलिब्रिजको १५ टनको मात्रै भार वहन क्षमता रहेको छ । त्यो भन्दा बढी तौलका सामाग्री पनि वार पार गर्नुपर्ने हुन्छ । यही कुरालाई ध्यानमा राखेर स्थायी पुल निर्माण गर्ने विषयमा सरकारले आवश्यक छलफल अगाडी बढाउँछ ।”
असोज १०, ११ र १२ गतको अविरल वर्षासँगैको बाढी पहिरोले देशभरका ८११ स्थानमा सडक क्षतविक्षद बनाएकाले सरकारले ती सडकहरुको क्रमशः निर्माण तथा मर्मत गरेर सञ्चालनमा ल्याइ रहेको बताउनुभयो ।
Advertisement
वर्तमान सरकार काम गर्नकै लागि निर्माण भएकाले यो सरकारले काम गर्दैन कि भन्नेमा कुनै पनि शङ्का उपशङ्काहरू नगर्न उहाँले आग्रह गर्नुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सबैको सक्रियतामा खुर्काेट पुलमा बेलिब्रिज हालेर बाढीले बगाएको २४ दिनमै सञ्चालन गर्न सफल भएको बताउनुभयो । यो पुलमा बेलिब्रिज जडानका लागि नेपाली सेनाको सक्रियता प्रशंसनीय रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो“सबैका सक्रियतामा खुर्काेट पुलमा बेलिब्रिज गरी सञ्चालन गरिएको छ । यसमा सबै भन्दा बढी सक्रियता नेपाली सेनको रह्यो । अब बेलिब्रिज अस्थायी भएकाले स्थायी पुल निर्माणमा लाग्नुपर्छ ।”
उहाँले सुनकोशीको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खैरेनी घाट पुलमा पनि तत्काल बेलिब्रिज जडान गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग माग गर्नुभयो । गत बाढीले सुनकोसी नदीको पुल रामेछापतर्फ झन्डै ५१ मिटर बगेकोमा नेपाली सेनाले असोज १८ गतेबाट बेलिब्रिज जडानको काम सुरु गरेको थियो । खुर्काेट पुलमा जडान गरिएको बेलिब्रिजको १५ टन भार वहन क्षमता रहेको र यो पुलबाट एकै चोटि दोहोरो सवारी साधन सञ्चालन गर्न नमिल्ने नेपाली सेनाका प्रमुख सेनानी तथा पुल निर्माण टाक्स फोर्स कमान्डर नारायण सुब्बाले बताउनुभयो ।
Advertisement
नेपाली सेनाले काम सुरु गरेको १८ दिनमै पुल सञ्चालनमा आएपछि रामेछाप र सिन्धुली जिल्लावासी खुसी भएका छन् । करिब १८ करोडको लागतमा १० वर्ष अघि बनेको सुनकोसी नदीमाथिको पक्की पुलले सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ को वेतिनीलाई जोडेको थियो । पुलको कुल लम्बाइ १०० मिटर रहेकोमा बाढीले ५१ मिटर भाग बगाएको थियो । यो पुलले रामेछाप सदरमुकाम मन्थलीलाई राजधानी काठमाडौँसँग ७५ किलोमिटर दुरी छोटो बनाएको थियो ।
प्रतिक्रिया