रामेछाप । जिल्ला अस्पताल रामेछाप बागमती प्रदेशकै उत्कृष्ट चार अस्पतालमा पर्न सफल भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा अस्पतालको सम्पादित स्वास्थ्य कार्यक्रमहरू तथा सेवा विस्तारका आधारमा बागमती प्रदेशमा सञ्चालित १३ वटा अस्पताल मध्ये जिल्ला अस्पताल रामेछाप उत्कृष्ट चारमा पर्न सफल भएको हो ।
गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य कार्यक्रम र सेवा विस्तारका आधारमा बाग्मती प्रदेशका प्रादेशिक १३ वटा अस्पतालहरूमध्ये रामेछाप अस्पताल चौथो हुन सफल भएको रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो “स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा बाग्मती प्रदेशका प्रादेशिक १३ वटा अस्पतालहरूले आफ्नो प्रस्तुति गरेका थिए । जसमा १०० मा ८३.४ अङ्क सहित भक्तपुर अस्पताल पहिलो, ७८.४ अङ्क सहित सिन्धुली अस्पताल दोस्रो, ७७.७ अङ्क सहित धादिङ अस्पताल तेस्रो र ७७.६ अङ्क सहित रामेछाप अस्पताल चौथो भएको हो ।”
उहाँका अनुसार अस्पतालको सेवा प्रवाह, आर्थिक सुशासन, प्रशासन, प्रविधि लगायत विभिन्न सूचकहरूलाई आधार मानेर मूल्याङ्कन गरिएको थियो । १३ वटा प्रादेशिक अस्पताल मध्ये रामेछाप अस्पताल चौथो हुनु सिङ्गो रामेछाप जिल्लावासीका लागि खुसीको कुरा भएको डाक्टर श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारको यो मूल्याङ्कनले अस्पताल परिवारलाई नै काम गर्ने ऊर्जा थपिएकाले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लगिने उहाँले बताउनुभयो ।
जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बन्दै गएको छ । यो अस्पताल २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको थियो । २०५० सालमा १५ शय्याको अस्पतालमा स्तरोन्नति भएको थियो । मुलुक सङ्घीय संरचनामा गएपछि आर्थिक वर्ष २०७५÷०७६ बाट वाग्मती प्रदेश अन्तरगतको अस्पतालको रूपमा सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ बाट यो अस्पताल ५० शय्याको अस्पतालका रूपमा सञ्चालनमा छ । यो अस्पताले आफ्नो सेवा सुविधा विस्तार गर्दै लगे पनि यो अस्पताल अपेक्षित मात्रामा सर्वसाधारणको रोजाइमा पर्न भने सकेको छैन । दक्ष र पर्याप्त जनशक्ति सहितको उपचार सेवा भए पनि रामेछाप अस्पतालमा सेवा ग्राही भने अपेक्षित मात्रा पुग्न सकेका छैनन् ।
प्रतिक्रिया