रामेछाप । दुःखले रोपेको धान खेत बाढी पहिरोले बगाएर धेरै किसानहरू प्रताडित बनिरहेका बेला रामेछापको मन्थली नगरपालिका–६ कुनौरीका माझी समुदायलाई भने धान भित्र्याउने चटारो छ । यो वर्ष बाढी पहिरोले आस पासमै धेरै धान खेत कटान गरे पनि कुनौरीका माझी समुदायले धान लगाएको बोक्से फाटमा भने तामाकोशीमा आएको बाढीले कुनै असर गरेन ।
गएका वर्षहरूमा मङ्सिरमा मात्रै धान पाक्ने तामाकोशी किनारमै रहेको बोक्से फाटमा यो वर्ष कात्तिक पहिलो हप्ताबाटै धान पाक्न थालेपछि यहाँका माझी समुदायलाई धान भित्र्याउने चटारो छ ।तामाकोशी, सुनकोशी, खिम्ती खोला, रणजोर खोला, लिखु खोला किनारमा रहेका जिल्लाका धेरै धान खेत बाढीले बगरमा परिणत गरे पनि बोक्से फाटमा कुनै असर नभएको मन्थली नगरपालिका–६ कुनौरीका तिलक माझी बताउनुहुन्छ । उहाँले भन्नुभयो “यो वर्ष तामाकोशीमा आएको बाढीले नजिकैको मजुवा सहित आसपासका धरै धान खेत बगर बने । तर हाम्रो बोक्से फाटमा भने बाढीले कुनै असर गरे । यो वर्ष धान पनि राम्रो फलेको छ । अहिले कुनौरीका माझी समुदाय बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म धान काट्ने र भित्र्याउने कामले खेतमै हुन्छन् ।”
Advertisement
केही वर्ष अगाडिसम्म राम्रो सिँचाइ सुविधा नहुँदा बोक्से फाटमा खासै धान उत्पादन हुँदैन थियो । अहिले पर्याप्त सिँचाइ सुविधा र राम्रो मौसमका कारण बोक्से फाटमा धान उत्पादन बढेको अर्का कृषक संसारे माझी बताउनुहुन्छ । उहाँले भन्नुभयो “तामाकोशी नजिकै हुँदा पनि पहिला अहिले जस्तो सिँचाइ सुविधा थिएन । पानी नभएकै कारण बोक्से फाटमा सबैले धान लगाउँदैन थिए । अहिले मल र जल दुवै सुविधा भयो । धान राम्रो फल्यो । धेरैको घरमा पोहोरकै धान र मकै अझै छन् ।”
बोक्से फाटबाट मन्थली नगरपालिका–६ कुनौरीका माझी समुदायले यो वर्ष राम्रो धान भित्र्याएका छन् । तर गत असोज १० देखि ११ गते परेको अविरल वर्षासँगै तामाकोशी र सुनकोशी सहित खिम्ती, लिखु, रणजोर, सुकाजोर लगायतका खोलामा आएको बाढीले आसपासका ठुलो मात्रामा धान खेतहरू बगर बनाएको छ ।
प्रतिक्रिया