रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थित च्यासिनटार बस्ती पहिरोको जोखिममा परेको छ । खाँडादेवी गाउँपालिका र बागमती प्रदेश सरकारको साझेदारीमा निर्माण भएको चुलिथुम्का–टिमु–च्यासिनटार–निगालबास सडक खण्डको च्यासिनटार स्थित पहिरो गएपछि बस्ती पनि जोखिममा परेको हो ।
चुलिथुम्का–टिमु–च्यासिनटार–निगालबास सडकको च्यासिनटारको बस्ती नजिकै ६० मिटर सडक पहिरोले बगाएको स्थानीय ठगेन्द्रबहादुर थापा मगरले बताउनुभयो । उहाँले भन्नुभयो “पहिरोले सडक बगाउँदा सडक छेउका बस्ती समेत जोखिममा परेको छ । सो क्षेत्रमा १०९ घन मिटर ग्याभिन पर्खाल लगाएर अस्थायी रुपमा सडक त सञ्चालन भएको छ । तर सडक र बस्ती दुवै पहिरोको जोखिममा रहेकाले तत्कालै मेसिनरी पर्खाल लगाउन अत्यावश्यक छ ।” गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण यो सडकमा पहिरो जाँदा च्यासिनटार बस्ती समेत जोखिममा परेको हो ।
Advertisement
पहिरो गएको ठाउँमा तत्काललाई ग्याभिन जाली उठाएर अस्थायी रूपमा सडक सञ्चालन गरिएको गाउँपालिका–७ का वडा अध्यक्ष सिरेलाल तामाङले बताउनुभयो । उहाँले भन्नुभयो “ च्यासिनटार स्थित पहिरो गएको ठाउँमा ग्याभिन जाली उठाएर अस्थायी रूपमा सडक सञ्चालन गरिएको छ । वडा कार्यालयको बजेटबाट सडक मर्मतको काम गरिएको हो । स्थानीयको माग अनुसार मेसिनरी पर्खाल निर्माणका लागि पहल भइरहेको छ ।”
सडक र बस्तीमा पहिरोले पु¥याएको क्षतिको बारेमा वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, राजनीतिक दलका नेताहरू लगायतका जनप्रतिनिधिले स्थलगत अवलोकन पनि गर्नुभएको छ । सो क्रममा पहिरो नियन्त्रणका लागि पहल गर्ने सांसद श्रेष्ठले स्थानीयलाई आश्वासन दिनुभएको छ । उहाँले भन्नुभयो“सडकमा गएको पहिरोले बस्ती पनि जोखिममा परेको छ । जसका कारण पहिरो रोकथाम अत्यावश्यक छ । यो कामका लागि सहयोग गर्न प्रदेश सरकारसँग आवश्यक पहल हुन्छ ।”
प्रतिक्रिया