मन्थली नगरको पहिलो चौमासिक विकासे योजना प्रगति, २५ प्रतिशत योजनाको उपभोक्ता समिति बन्यो

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा विकासे योजनाहरू कार्यान्वयनको पक्ष सुस्त देखिएको छ । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा पूर्वाधार विकाससँग जोडिएका ३७५ वटा भन्दा बढी योजनाहरू सम्पन्न हुनुपर्नेछ ।
यी योजनाहरू मध्ये ३५० वटा योजनाहरू उपभोक्ता समिति मार्फत र २५ वटा ठुला योजना ठेक्का प्रणाली मार्फत सम्पन्न गर्नुपर्नेछ । ठुला योजना अन्तरगत अधिकांश नगर वडा साझेदारी कार्यक्रम अन्तरगत नगरको २० लाख र सम्बन्धित वडाको २० लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ बजेटका योजनाहरू छन् ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिएको छ । मन्थली नगरपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिक महिनासम्म एउटा पनि पूर्वाधार विकासका योजना सम्पन्न हुन सकेको छैन । अहिलेसम्म उपभोक्ता समिति मार्फत सम्पन्न हुनुपर्ने लगभग २५ प्रतिशत योजनाको उपभोक्ता समिति बनेको र उपभोक्ता समिति बनेका ९० प्रतिशत योजनाको सम्झौता भइसकेको नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखा प्रमुख डिल्ली अधिकारीले बताउनुभयो ।

नगरको कार्यविधि अनुसार यो वर्ष २५ लाख माथिका २५ वटा ठुला योजनाहरू ठेक्का प्रणाली मार्फत सम्पन्न हुनुपर्नेमा अहिलेसम्म ७ वटा योजनाको ठेक्का आह्वान भई सम्झौताका चरणमा रहेका र १४ वटा योजनाका स्टमेड भई बोलपत्र आह्वानको तयारी भइरहेको उहाँले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “मन्थली नगरपालिकामा यो वर्ष पूर्वाधार विकाससँग जोडिएका ३७५ वटा भन्दा बढी योजनाहरू छन् । यी योजनाहरू मध्ये ३५० वटा योजनाहरू उपभोक्ता समिति मार्फत र २५ वटा ठुला योजना ठेक्का प्रणाली मार्फत सम्पन्न गर्नुपर्नेछ । अहिलेसम्म उपभोक्ता समिति मार्फत सम्पन्न हुनुपर्ने २५ प्रतिशत योजनाको उपभोक्ता समिति बनेका छन् । ७ वटा ठुला योजना बोलपत्र आह्वान पश्चात् सम्झौताका चरणमा छन् ।”
पूर्वाधार विकास तथा अनुगमन शाखाको अनुसार नगरपालिकाले बनाएको कार्यविधि अनुसार सबै योजनाहरूको कात्तिक मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्नुपर्ने, मङ्सिरभित्र सम्झौता गरिसक्नुपर्ने र चैत मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्नुपर्छ । तर मङ्सिर महिनाको पहिलो हप्ता बित्न लाग्दा समेत २५ प्रतिशत योजनाको पनि उपभोक्ता समिति गठन हुन नसकेपछि कार्यविधि संशोधन गर्ने तयारी भएको पूर्वाधार विकास तथा अनुगमन शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

टुक्रे योजनाका कारण सङ्ख्यामा योजना बढी देखिने तर परिणाम देखिने अवस्था नभएको भन्दै विगतका केही वर्षदेखि नगरपालिकाले टुक्रे योजना घटाउँदै लैजाने बताउँदै आएको छ । तर चालु वर्षको विकासे योजनाहरू हेर्दा एउटा वडामा २० देखि ४८ वटासम्म योजनाहरू सम्पन्न गर्नुपर्ने छ ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च