रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले पहिलो चौमासिकका जम्मा बजेटको १२.८३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा ५६ करोड ९० लाख ५२ हजार रुपैयाँ रहेकोमा १२.८३ प्रतिशत अर्थात् ७ करोड ३ लाख ४१ हजार १६४.७७ पैसा खर्च गरेको हो ।
शुक्रवार सुनापति गाउँपालिकाको आयोजना र प्रहार मिडिया प्रालिको सहजिकरणमा चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म गाउँपालिकाबाट सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा भएको सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले यसबारेमा जानकारी गराउनुभएको हो ।
Advertisement
उहाँका अनुसार यो अवधिसम्म चालु तर्फ ३७ करोड ५९ खाल १५ हजार ८०० रुपैयाँ बजेट रहेकोमा १८.४४ प्रतिशत अर्थात् ६ करोड ९३ खाल २७ हजार ९१६.७७ रुपैयाँ बजेट खर्च भएको छ । त्यसै गरी पुँजीगत तर्फ १९ करोड ३१ लाख ३६ हजार २०० रुपियाँ बजेट रहेकोमा १.९२ प्रतिशत अर्थात् ३७ लाख १३ हजार २४८ रुपियाँ बजेट खर्च भएको छ ।
पाँच वटा वडा रहेको सुनापति गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७५ वटा भन्दा बढी योजनाहरू उपभोक्ता समिति मार्फत सम्पन्न हुनुपर्नेमा कात्तिक मसान्तसम्म ३२ वटा योजनाको उपभोक्ता समिति बनेका र २ वटा योजनाको सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो ।
Advertisement
उहाँका अनुसार यो वर्ष गाउँपालिकाले ४५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा पहिलो चौमासिकसम्म लक्ष्यको २९.८८ प्रतिशत अर्थात् १३ लाख ४४ हजार ६०२ रुपैयाँ आम्दानी भएको छ ।
कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, महिला र कृषि क्षेत्रका कार्यक्रमसँग जोडिएका प्रश्न तथा जिज्ञासा राखेका थिए । प्रश्नहरूको गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ र वडा अध्यक्षहरूले जवाफ दिनुभएको थियो । गाउँपालिका अध्यक्ष तामाङले समृद्ध र सुखी सुनापति ः कृषि पर्यटन हाम्रो सम्पत्ति भन्ने नाराका साथ सबैको सुझाव र सहयोगमा गाउँपालिका विकासका लागि आफूहरू लागि परेको बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुणस्तर परीक्षण नतिजा अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछापका आठ पालिकामध्ये सुनापति गाउँपालिका दोस्रो रहेकाले अब पहिलो हुने गरी काम गर्ने अध्यक्ष तामाङले प्रतिबद्धता जनाउनुभयो ।
Advertisement
प्रतिक्रिया