रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा रहेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको वडा नम्बर ४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गम स्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
पार्कभित्र निर्माण गरिएको डम्फु र टुङ्ना अनि यो पार्कबाट देखिने दृश्य अवलोकनका लागि पार्कमा मानिसहरू आउने गरेका सुनापति गाउँपालिका–३ हिलेदेवीका रोहित मोक्तानले बताउनुभयो । उहाँले भन्नुभयो “सुनापति गाउँपालिकाको वडा नं ३ र ४ मा तामाङ जातिको बाहुल्यता छ । यही कुरालाई ध्यानमा राखेर स्थानीयको माग अनुसार तामाङ जातिको संस्कृति र पहिचानसँग जोडिएको डम्फु र टुङ्ना सहितको डम्फु पार्क गाउँपालिकाले निर्माण भएको छ । पछिल्लो समय पार्कमा मानिसहरूको चहलपहल बढेको छ।”
Advertisement
लुभु–बेथान– हिलेदेवी–गाल्वा सडक अन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो खिच्ने, टिकटक बनाउने, पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशङ्कर हिमाल लगायतको क्षेत्रको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकहरूको चहलपहल बढेको उहाँले बताउनुभयो ।
तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँमा स्थानीयको माग अनुसार केही वर्ष अगाडी सुनापति गाउँपालिकाले २१ लाख रुपैयाँ बजेट खर्च गरी तामाङ जातिको संस्कृति झल्किने गरी डम्फु पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया