रामेछाप । गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको आन्दोलनको बलबाट बनेको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको छ।
निर्वाचनलाई समयमै सम्पन्न गर्न सरकार र सरोकारवाला निकायहरूले तयारी तीव्र बनाएका छन्।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिले पछिल्ला केही दिनदेखि विभिन्न राजनीतिक दलका कार्यालयमै पुगेर शीर्ष नेताहरूसँग निर्वाचन केन्द्रित छलफललाई तीव्र पारेको छ।
Advertisement
यससँगै निर्वाचन आयोगले पनि देशव्यापी रूपमा निर्वाचन तयारीलाई अगाडि बढाएको छ।
यही सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री तथा जनशक्ति व्यवस्थापनको काम सुरु गरेको छ।
जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार निर्वाचन आयोगले ३७ प्रकारका निर्वाचन सामग्री जिल्ला स्तरमै खरिद गर्न सक्ने गरी परिपत्र गरेको छ। “सोही निर्देशनअनुसार अहिले मुख्य रूपमा निर्वाचन सामग्री व्यवस्थापन र निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति तयारीको काम भइरहेको छ,” उनले भने।
उनका अनुसार असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली दर्ताको काम सम्पन्न भइसकेको छ भने मतदान स्थल र मतदान केन्द्रहरूको पुनरावलोकन पनि गरिएको छ।
Advertisement
हाल रामेछाप जिल्लाभर ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र तोकिएका छन्।
केही स्थानमा मतदाताको चाप र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै थप मतदान केन्द्र थप गर्ने विषयमा समेत छलफल भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।



























प्रतिक्रिया