रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य सेवा अभियान सुरु गरेको छ। सदरमुकाम मन्थलीमा सञ्चालनमा रहेको चिकित्सालयले विभिन्न पालिकासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन गर्न थालेको हो।
शनिवार सुनापति गाउँपालिका–केन्द्र हिलेदेवीमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा आयुर्वेदिक चिकित्सक डा. अच्युत रिमालको टोलीले बिरामी जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरेका थिए।
Advertisement
चिकित्सालयका प्रमुख दीपक कार्कीका अनुसार ग्यास्ट्रिक, बाथ–बेथाबाट सुरु हुने हाड–जोर्नी दुखाइ, पोल्ने, शरीर झमझमाउने तथा पुरानो खोकी जस्ता रोगका बिरामी बढी आएका थिए। उनका अनुसार, गाउँपालिकाको अस्पतालमा भएको शिविरबाट करिब २ सय जना बिरामीले प्रत्यक्ष सेवा प्राप्त गरे।
सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले शिविर प्रभावकारी देखिएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। उनले पछिल्लो समय समाजमा नसर्ने रोग मुख्य स्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै, “आयुर्वेदिक जाँच, परामर्श र निःशुल्क औषधि वितरण ग्रामीण भेगका नागरिकका लागि अत्यन्त उपयोगी भएको छ,” भने।
Advertisement
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका अध्यक्ष नबराज पथिकले गाउँ–गाउँमा आयुर्वेदिक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अभियानको सुरुवात गरिएको बताए। “पछिल्लो समय नागरिकको आयुर्वेदिक उपचारप्रतिको आकर्षण बढ्दो छ तर धेरै ग्रामीण बासिन्दा अझै सेवाबाट वञ्चित छन्। यही अवस्थालाई ध्यानमा राखेर यो अभियान सुरु गरेका हौँ, ” उनले भने।
अब उमाकुण्ड गाउँपालिकामा मङ्सिरको पहिलो हप्ताबाट अर्को निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालनको तयारी भएको अध्यक्ष पथिकले जानकारी दिए। उनका अनुसार यसअघिनै जिल्लाको प्रमुख शक्ति–पीठ खाँडादेवी मन्दिरमा दर्शनका लागि आएका भक्तजनलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको थियो।
Advertisement



























प्रतिक्रिया