काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज शुक्रबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। पहिलोपटक फ्लड–लाइट र प्यारापिट सुविधा सहित त्रिवि मैदानमा एनपीएल आयोजना हुन लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार उद्घाटन कार्यक्रम अपरान्ह २ बजे हुनेछ भने उद्घाटन खेल साँझ ४ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ। प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ र लिग चरण, तीन प्लेअफ तथा फाइनलसहित ३२ खेल हुनेछ।
त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट र फ्लड–लाइट जडानसँगै यसपटकको एनपीएलमा दर्शकको आकर्षण बढेको छ। सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत आवश्यक संरचना क्यानलाई हस्तान्तरण गरेको हो। क्यानले दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ भने उद्घाटन खेलका टिकट दुई दिनअघि नै सकिएका छन्।
Advertisement
उद्घाटन दिन साधारण टिकट रु ५०० र प्रिमियम टिकट रु १,५०० तोकिएको छ। लिग चरणमा टिकट मूल्य साधारण रु ५०० र प्रिमियम रु १,००० रहनेछ। प्लेअफ खेलका लागि साधारण टिकट रु १,००० र प्रिमियम रु २,००० हुनेछ। सिजनल टिकटको मूल्य रु १५,००० तोकिएको छ।
विजेता टोलीलाई रु १ करोड १० लाख प्रदान गरिनेछ। उपविजेताले रु ५१ लाख, तेस्रो हुनेले रु २५ लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले रु १५ लाख पुरस्कार पाउनेछ। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
Advertisement
यस संस्करणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। क्यानले यस पटक एनपीएलबाट करिब रु ४० करोड आम्दानी हुने लक्ष्य राखेको छ।



























प्रतिक्रिया