रामेछाप । रामेछापमा पछिल्लो समय मौरी पालनतर्फ कृषकहरूको आकर्षण बढ्दै गएको छ । धेरै दुःख र मेहनत गर्न नपर्ने, आम्दानी राम्रो हुने र बजारको समस्या नदेखिने भएकाले मौरी पालन कृषकका लागि आकर्षक व्यवसाय बन्दै गएको हो ।
सुनापति गाउँपालिका–५ लिङ्गेडाँडाका कृषक लालबहादुर मानन्धरले मौरी पालन कम मेहनतमा राम्रो आम्दानी दिने व्यवसाय भएको बताए । उनी रुपाकोट मौरी पालन कृषक समूहमा आबद्ध भई विगत एक दशकभन्दा बढी समयदेखि मौरी पालन गर्दै आएका छन् । हाल उनले व्यक्तिगत रूपमा सुनापति मौरी पालन फार्म दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका छन् ।
सामुदायिक विकास समाज (सिडिएस) मन्थलीले मानन्धर जस्ता धेरै कृषकलाई सात दिने मौरी पालन तालिम प्रदान गर्नुका साथै मौरीका घार वितरण गरेको छ । संस्थाले मौरी पालक कृषकलाई निरन्तर प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।
Advertisement
मानन्धरका अनुसार उनी अगुवा कृषक रहेको उक्त समूहमा हाल करिब १ हजार ५ सय घार मौरी रहेका छन् । समूहका सदस्यहरूले २० देखि ५० घारसम्म मौरी पालेका छन् ।
समूहमा सेराना र मेलिफेरा जातका मौरी पालिँदै आएको छ । सुनापति गाउँपालिका–५ खनियापानी क्षेत्रलाई मौरी पालन पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए ।
व्यक्तिगत फार्ममा मानन्धरले हाल सेराना र मेलिफेरा जातका गरी ६० घार मौरी पालेका छन् । परम्परागत शैलीमा मौरी पालन गर्दै आएको अवस्थामा सिडिएसबाट प्राप्त तालिमले व्यवसायलाई आधुनिक बनाउन सहयोग पुगेको उनले बताए ।
उनका अनुसार मह उत्पादन गर्ने मुख्य सिजन असार र कार्तिक महिना हुन् । गत वर्ष दुई सिजनमा गरी उनले १३० केजी मह उत्पादन गरेका थिए । चालु वर्षको असारमा ७० केजी मह उत्पादन भएको छ । कार्तिकमा १५० केजी मह उत्पादनको अनुमान गरिएको भए पनि अरिङ्गालको क्षतिका कारण ३५ केजी मात्र उत्पादन भएको मानन्धरले बताए ।
Advertisement
उत्पादन भएको मह काडेकै स्थानबाट प्रतिकेजी १ हजार २०० रुपैयाँमा सहजै बिक्री हुने गरेको छ । मौरी पालनले आम्दानीसँगै आत्मनिर्भर बन्ने अवसर दिएको कृषकहरू बताउँछन् ।
मन्थली नगरपालिका–७ भटौलीका ४० वर्षीय दिलबहादुर आछामीले पनि घर वरिपरि मौरी पालन गर्दै आएका छन् । मन्थली नगरपालिका–९ पुरागाउँस्थित स्थानापति माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षक रहेका आछामीले विद्यालयको समयबाहेक खाली समय सदुपयोग गर्दै मौरी पालन र कृषिमा भविष्य खोजिरहेका छन् ।
कम मेहनतमा राम्रो आम्दानी हुने, बजारको समस्या नहुने र अन्य कृषि पेसासँग सजिलै जोड्न सकिने भएकाले उनले फलफूल खेतीसँगै मौरी पालन सुरु गरेको बताए । आछामीका अनुसार पछिल्लो समय गाउँमा मौरी पाल्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ । उत्पादन भएको मह बिक्री गर्न समस्या नरहेको र मूल्य पनि सन्तोषजनक रहेको उनले बताए ।
Advertisement
उनले भने, “अहिले गाउँमा मौरी पाल्ने कृषक धेरै छन् । उत्पादन भएको मह बेच्न समस्या छैन । महको मूल्य पनि ठिकै छ । मैले पनि घर वरिपरि नै मौरीका घार राखेको छु । सुरुवाती चरणमा भएकाले ठुलो मात्रामा भने मौरी छैन ।” मन्थली नगरपालिका–१, मन्थलीका चन्द्रबहादुर मानन्धर विगत डेढ दशकदेखि मौरी पालन व्यवसायमा सक्रिय छन् । सदरमुकाम मन्थलीसहित आसपासका विभिन्न स्थानमा उनले मौरी पालन गर्दै आएका छन् ।
मानन्धरका अनुसार पछिल्लो एक दशकयता रामेछाप जिल्लाको सुनापति गाउँपालिका र मन्थली नगरपालिकाका विभिन्न क्षेत्रमा मौरी पालन गर्ने कृषकको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ ।
“पछिल्लो समयमा मौरी पालनतर्फ आकर्षण बढेको छ,” उनले भने, “विशेष गरी सुनापति गाउँपालिका र मन्थली नगरपालिकामा मौरी पाल्ने कृषकको सङ्ख्या बढी देखिन्छ ।” गत वर्ष उनले ३ सय किलोभन्दा बढी मह उत्पादन गरेका थिए भने मौरीका घार बिक्रीबाट मात्र २ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको थियो । चालु वर्षमा अहिलेसम्म नै २ लाख रुपैयाँभन्दा बढीको मौरी बिक्री भइसकेको र मह उत्पादन तथा घार बिक्रीसमेत गरी कुल आम्दानी १० लाख रुपैयाँभन्दा बढी हुने अनुमान रहेको मानन्धरले बताए ।
कम लगानी, राम्रो बजार र निरन्तर आम्दानीको सम्भावना भएकाले मौरी पालन व्यवसाय रामेछापका कृषकहरूका लागि आकर्षक विकल्प बन्दै गएको उनी बताउँछन् । सामुदायिक विकास समाज (सिडिएस) ले आवश्यक तालिम सहित मौरी, घार लगायत प्राविधिक सहयोग गरेपछि जिल्लामा मौरी पाल्ने किसान थप बढ्न थालेको उनले बताए ।विशेष गरि सुनापति गाउँपालिका वडा नं ५ का मौरी पालक कृषकलाई सिडिएसले सहयोग गरेको उनको भनाइ छ ।



























प्रतिक्रिया