रामेछाप । नुम्बुर हिमालको काखमा अवस्थित उमाकुण्ड गाउँपालिका–१ गुम्देल पुग्ने जो कोहीलाई पहिलो नजरमै मोहित बनाउँछ।
जिल्लाकै एक मात्र हिमाली गाउँका रूपमा चिनिने गुम्देलको लाहाछेवर रामेछापको अन्तिम मानव बस्ती हो ।
जहाँबाट हिमाली जीवनशैली र प्रकृतिको अनुपम सौन्दर्य सुरु हुन्छ।
विगतमा अत्यन्तै दुर्गम मानिने गुम्देल पछिल्ला वर्षहरूमा सडक सञ्जालसँग जोडिँदै गएपछि क्रमशः सुगम बन्दै गएको छ।
वर्षा याममा कहिलेकाहीँ अवरोध देखिए पनि हाल मन्थली–गुम्देल सडक खण्डमा नियमित यातायात सञ्चालन भइरहेको छ।
स्थानीयका अनुसार मन्थलीबाट करिब ७ घण्टाको यात्रापछि गुम्देलको लाहाछेवर रामेछापको अन्तिम मानव बस्ती पुग्न सकिन्छ।
Advertisement
गुम्देल र लाहाछेवरको बिचमा लिखु र हिमगंगाको पवित्र संगमस्थलमा अवस्थित उमातिर्थ मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक केन्द्रका रूपमा स्थापित छ। हिन्दु धर्मावलम्बीहरूले यस तीर्थस्थललाई उत्तर काशीका रूपमा आस्थाको केन्द्र मान्दै आएका छन्।
उमातिर्थ मन्दिरको दर्शनका लागि वर्षभरि नै टाढा–टाढाबाट भक्तजन आउने गरेको स्थानीय डोमा शेर्पा बताउँछिन्। उनका अनुसार, “गुम्देल र लाहाछेवरको बिचमा अवस्थित उमातिर्थ मन्दिर हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण आस्थाको केन्द्र हो।
Advertisement
तर पछिल्ला वर्षहरूमा लिखु खोलामा सञ्चालनमा रहेका तथा निर्माणाधीन हाइड्रोपावर आयोजनाका कारण यस पवित्र तीर्थस्थलको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ।”
धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने यस क्षेत्रको संरक्षण र दिगो विकासका लागि सरोकारवाला निकायहरूले समयमै गम्भीर ध्यान दिनु आवश्यक रहेको उनले जोड दिइन्। जिल्ला सदरमुकाम मन्थलीबाट ठोसे, चुचुरेको शिवालय र बाम्ती हुँदै गुम्देल पुग्न सकिन्छ।
यी सबै क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र अत्यन्तै मनोरम छन्। पहाडी भू–दृश्य, हरियाली वनजंगल र शुद्ध हिमाली वातावरणले यो यात्रा आफैँमा अविस्मरणीय अनुभूति दिलाउने गर्दछ।
गुम्देलबाट अझै अगाडि पैदल यात्रा गर्न चाहने पर्यटकका लागि प्राकृतिक रूपमा निर्मित कावा गुम्बा, दूध पोखरी तथा अन्य विभिन्न हिम पोखरीहरूसम्म पुग्ने पदमार्ग उपलब्ध छन्। यहाँ पुग्ने पर्यटकले हिमाली सौन्दर्य अवलोकन मात्र होइन, हिउँ छाम्ने र खेल्ने अनौठो अनुभवसमेत लिन सक्ने स्थानीय रामचन्द्र विक बताउँछन्।
Advertisement
उनका अनुसार, “ सदरमुकाम मन्थलीबाट लाहाछेवर करिब ६–७ घण्टाको सडक यात्रापछि पुगिन्छ। लाहाछेवरबाट ३ घण्टा सडक यात्रा र ३ घण्टाको पैदल यात्रापछि दूध पोखरी पुगिन्छ । त्यसपछि चारैतिर हिउँले ढाकिएको दृश्य देखिन्छ, जहाँ पुगेर हिउँको वास्तविक मज्जा लिन सकिन्छ। समग्रमा हेर्दा उमाकुण्ड गाउँपालिका–१ गुम्देलले अत्यन्तै ठुलो पर्यटकीय सम्भावना बोकेको छ।”

प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनका दृष्टिले गुम्देलको व्यवस्थित प्रवद्र्धन गर्न सके यस क्षेत्र रामेछापकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ।
उमाकुण्ड गाउँपालिकाको समृद्धिको मुख्य आधार कृषि, पर्यटन र जलस्रोत रहेको छ। धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा सम्पन्न यस गाउँपालिकालाई अत्यन्तै रमणीय र सम्भावनायुक्त क्षेत्रका रूपमा लिइन्छ। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने पाँच पोखरी, जट्टा पोखरीलगायतका ताल–तलैयामा पुग्ने प्रमुख प्रवेशद्वारसमेत यही गाउँपालिकामा पर्दछ।




























प्रतिक्रिया