रामेछाप। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको ११ औँ महाधिवेशनबाट रामेछाप जिल्लाका दुई जना नेताहरू केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार दिउँसो सकिएको मतगणनामा रामेछापबाट माधव प्रसाद ढुङ्गेल र गीता कार्की केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका हुन् । ढुङ्गेल खुला तर्फ एक हजार २९९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएका छन् भने कार्की महिला खुला तर्फ एक हजार ७४८ मत प्राप्त गर्दै केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएकी छिन् ।
Advertisement
यसअघि पनि केन्द्रीय कमिटी सदस्यको रूपमा जिम्मेवारी सम्हाली सकेका ढुङ्गेल लामो समयदेखि पार्टी संगठन निर्माण, जनआन्दोलन तथा सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन् । त्यसै गरी, कार्कीसँग पनि यसअघि नै केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेको अनुभव छ ।
यसैबिच, रामेछापबाट केन्द्रीय कमिटी सदस्यमा चुनाव लडेका अन्य तीन जना भने पराजित भएका छन् । खुला तर्फका उम्मेदवार शान्तिप्रसाद पौडेल, महिला खुला तर्फकी उम्मेदवार गंगादेवी कार्की तथा बाग्मती प्रदेश महिला क्लस्टरबाट उम्मेदवारी दिएकी सीता कुमारी खत्री पराजित भएका हुन् । निर्वाचन परिणामअनुसार पौडेलले ५१९ मत, गंगादेवी कार्कीले एक हजार ४ मत र सीता कुमारी खत्रीले ८७० मत प्राप्त गरेका छन् ।
Advertisement



























प्रतिक्रिया