मन्थली नगरपालिकाको ५ महिना : कुल बजेट खर्च १८ प्रतिशत, लक्ष्यको ३७ प्रतिशत राजस्व सङ्कलन

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा १८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। शुक्रवार वडा नं. २ को कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बजेट कार्यान्वयनको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो।

उहाँका अनुसार चालु आर्थिक वर्षका लागि मन्थली नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरिएको छ। मङ्सिर मसान्तसम्म आइपुग्दा चालु खर्च २६ प्रतिशत, पुँजीगत खर्च करिब २ प्रतिशत र कुल बजेट खर्च १८ प्रतिशत मात्र भएको छ। नगरपालिकाले चालु वर्ष चालु तर्फ ७२ करोड १० लाख ७७ हजार रुपैयाँ र पुँजीगत तर्फ ३२ करोड ५४ लाख ८६ हजार बजेट विनियोजन गरेको छ ।

Advertisement

पुँजीगत खर्च न्यून रहँदा विकास निर्माणका योजनाहरू अपेक्षित गतिमा अघि बढ्न नसकेको देखिएको छ। तथापि, बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन SuTRA, CGAS, Online Vouching र PAMS जस्ता अनलाइन प्रणाली लागू गरिएकाले भुक्तानी प्रक्रिया, जिन्सी व्यवस्थापन र वित्तीय अनुशासनमा सहजता आएको उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा मन्थली नगरपालिकाले आन्तरिक राजस्व सङ्कलनतर्फ उल्लेखनीय प्रगति गरेको छ। चालु आ.व.मा ४ करोड २३ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म १ करोड ५६ लाख रुपैयाँ अर्थात् ३७.०६ प्रतिशत सङ्कलन भइसकेको छ।

Advertisement

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सबै वडा कार्यालयबाट भूमि करलगायत राजस्व सङ्कलन अनलाइन प्रणालीबाट सुरु गरिएको र नगरभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा फाइबर इन्टरनेट जडान गरी एकीकृत सूचना प्रवाह प्रणालीलाई निरन्तरता दिइएको प्रतिवेदनमा उल्लेख छ ।

मन्थली नगरपालिका रामेछाप जिल्लाकै पहिलो, बागमती प्रदेशको ११औँ र देशभरको २७औँ बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको र यसको दिगोपनाका लागि आवश्यक क्रियाकलापहरू निरन्तर सञ्चालन भइरहेको उल्लेख गरिएको छ । यस अवधिमा ८४ जनालाई अपाङ्गता परिचयपत्र र २० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको पनि उल्लेख छ । मानव बेचबिखनविरुद्धको दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रभात फेरी, अन्तरक्रिया, विद्यार्थीबिच चित्रकला प्रतियोगिता र २१ जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

Advertisement

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवालाहरूले विकास बजेटको खर्च बढाउन र योजनाको कार्यान्वयन तीव्र पार्नुपर्ने सुझाव सहित विभिन्न विषयमा केन्द्रित भई प्रश्नहरू गरेका थिए । सहभागीका प्रश्नको नगरप्रमुख लव श्रेष्ठ,  उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत सापकोटा सहित वडा अध्यक्षहरुले जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजीकरण प्रहार मिडिया प्रा.लिले गरेको हो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च